वैदेशिक रोजगारीमा सबैभन्दा बढी धनुषावासी Aug-04-2010
काठमाडौ, श्रावण १९ -कामको खोजीमा सबैभन्दा बढी बिदेसिने जिल्लाको पहिलो स्थानमा धनुषा आएको छ । दुई वर्षमा सबैभन्दा बढी धनुषाबाट बिदेसिएका छन्, वैदेशिक रोजगार विभागका निर्देशक काशिनाथ मरासिनीले भने, यस अवधिमा ६५ हजार ५ सय ८० धनुषावासी बाहिरिए । धेरै कामदार बिदेसिन प्रमुख १० जिल्लामा पूर्वाञ्चल तथा मध्यामाञ्चल विकास क्षेत्रको तराई भेगका जिल्ला छन् । यस्तै सबैभन्दा बढी बिदेसिने प्रमुख १० जिल्लाले मुलुकबाट बिदेसिने कुल कामदारको संख्यामा करिब ८० प्रतिशत हिस्सा ओगटेको छ । आर्थिक वर्ष ०६५/०६६ र ०६६/०६७ मा ५ लाख ११ हजार २ सय ५८ कामदार विभागबाट अन्तिम श्रम स्वीकृति लिएर बिदेसिएका थिए । त्यस अवधिमा १० मुलुकमा गएका कामदारको संख्या भने ४ लाख ८ हजार ५ सय १९ कामदार छन् । यी क्षेत्रबाट बिदेसिने धेरै कामदार मलेसिया तथा खाडी मुलकमा गएका छन् । निर्देशक मरासिनीका अनुसार बढी जनसंख्या भएका जिल्ला र पहिलेदेखि वैदेशिक रोजगारीमा जाने गरेकाले यी क्षेत्रका धेरै मानिस काम गर्न बिदेसिएका हुन् । बढी जाने जिल्लाको दोस्रो स्थानमा महोत्तरी छ । महोत्तरीबाट ५७ हजार २४ जना काम खोज्दै बिदेसिएका छन् । तेस्रो स्थानको झापाबाट ५२ हजार ५ सय ५१ जना बिदेसिए भने चौथो सिराहबाट ४७ हजार ५ सय ८१ जना बिदेसिए । मोरङबाट यस अवधिमा ४२ हजार ९ सय ९८ कामदार बिदेसिए,उनले बताए । यसअवधिमा नवलपरासीबाट ३१ हजार ८ सय ६१ जना बिदेसिएका छन् । सूचीको सातौं स्थानमा रहेको सप्तरीबाट २८ हजार १ सय ९४ कामदार बिदेसिए । सुनसरीबाट २७ हजार ७ सय २३ कामदार बिदेसिए भने तनहुबाट यस अवधिमा २७ हजार ६ सय ६ कामदार बाहिरिए भयो । चितवनबाट बिदेसिनेको संख्या भने २७ हजार ३ सय ४६ कायम भयो । वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष तिलक रानभाटका अनुसार यी क्षेत्रमा धेरै जनसंख्या भएकाले जानेको संख्या बढी भएको बताउँछन् । धेरै कामदार जाने जिल्ला सबै तराईका छन्, उनले भने, पहाडी र हिमाली क्षेत्रबाट कम जानुको पछाडी जनसंख्यापनि हो । धेरै कामदार जाने जिल्लामा जनसंख्या वृद्धिदर उच्च रहेको छ । २०५८ को जनगणनाअनुसार धनुषा, महोत्तरी, झापा सिराह र मोरङको जनसंख्या क्रमशः ६ लाख ७१ हजार, ५ लाख ५३ हजार, ६ लाख ३३ हजार, ५ लाख ६९ हजार, ८ लाख ४३ रहेको छ । नवलपरासी, सप्तरी, सुनसरी, तनहुँ र चितवनको जनसंख्या क्रमशः ५ लाख ६२, ५ लाख ७० हजार, ६ लाख २५ हजार, ३ लाख १५ हजार र ४ लाख ७१ हजार छ । यी जिल्लाका धेरै बासिन्दा पहिलेदेखि नै बिदेसिने गरेकाले तथ्यांकको अग्रस्थानमा आएका हुन् । नजिकका व्यक्ति जाने गरेकाले नयाँलाई प्रक्रिया र कमाइबारे धेरै ज्ञान छ, रानभाटले भने । विदेशमा पैसा कमाइन्छ भन्ने सामाजिक धारणाको पनि महत्त्वपूर्ण भूमिका रहेको छ । घर छाडेर बाहिर काम गर्ने बानी, विदेश जाने भनेपछि साहुबाट सजिलै ऋण पाइने अवस्थामा संख्या बढाउन सघाएको हो । यी क्षेत्रमा साहुले काम गर्न बिदेसिनेलाई सजिलै ऋण दिन्छन्, रानाभाटले भने । खाडी र मलेसियामा ठूलो लगानी गर्नु नपर्ने र प्रक्रिया सुरु गरेपछि जान पाइने प्रायः निश्चित हुने भएकाले धेरै यी क्षेत्रमा गएका हुन् । मध्य तथा सुदूरपश्चिम क्षेत्रका जनताको भन्दा राजधानीमा सहज पहुँच भएकाले बिदेसिने बढेका हुन् । मध्य तथा सुदूरपश्चिमका जनता भने भातरका विभिन्न सहरमा काम गर्न जाने गर्छन् । विभागले गत आवमा अघिल्लो आर्थिक वर्षको भन्दा उच्च संख्यामा बिदेसिने बढेकाले जिल्लागत रूपमा बिदेसिने पनि बढेको जनाएको छ । यसरी जाने कामदारका लागि मुख्य गन्तव्य मुलुक मलेसिया रहेको छ । गत आवमा बिदेसिनेमध्ये करिब ४० प्रतिशत मलेसिया गएका थिए । दोस्रो गन्तव्य मुलुक साउदी अरब रहेको छ । त्यसपछि क्रमशः कतार र कुवेत छन् ।