कुवेतबाट १४ जना महिला कामदार दूतावासको सह Jul-28-2010
जय आले, कुवेत
विविध कारणवश आफुले काम गर्ने घरबाट भाग्दै नेपाली राजदूतावास कुवेतमा बिगत २ महिना देखी शरण लिई बसेका नेपाली महिला कामदारहरुमध्ये १४ जनालाई आज बिहान गल्फ एयरको उडानबाट नेपाली राजदूतावास कुवेतले नेपाल फिर्ता पठाएको छ ।
गत चैत्र महिनादेखी नेपाली दूतावासले अधिकारिक तवरमा कार्य संचालन गरेपश्चात यसरी भाग्दै शरण लिन आएकामध्ये ११९ जनालाई दूतावासको सहयोगमा नेपाल फर्काई सकिएको दूतावासले आज जारी गरेको प्रेस बिज्ञप्तीमा जनाएको छ । यसैगरी १८ नं. भिसा अन्तर्गत हेभी वाहन चालकको रुपमा काम गर्न आएका ४० जना पुरुष कामदारहरुले आफ्नो काम गर्ने वातावरण सन्तोषपूर्ण नभएको भन्दै दूतावासको सहयोगको तिव्र अपेक्षामा दूतावास आएकाले उनिहरुलाई पनि यसै महिना दूतावासले सहयोग गर्दै नेपाल फर्काएको र तिमध्ये १५ जनालाई १ महिनासम्म खानपिनको व्यवस्था समेत दूतावासले नै जुटाई दिएको दूतावास स्रोतले जनाएको छ ।
यसै सन्दर्भमा कुवेतनेपाल डट कमका सम्पादक जय आले र नेपाली राजदूतावास कुवेतका सचिव श्री पुष्पराज भट्टराई बीच भएका कुराकानीको केही अंश तल राखिएको छ ।
*दूतावासमा शरण लिन आएकामध्ये आज १४ जना र दूतावासले कार्य संचालन गरेपश्चात ११९ जनालाई नेपाल फर्काई सकियो भनिएको छ । कुन प्रकृया अपनाएर दूतावासले पठाउन सफल भयो ? यस भित्रका कानूनी मेकानिज्म बारे केही बताई दिनु हुन्छ कि ?
-भागेर शरण लिन आउने कामदारहरुको पनि २ वटा अलग-अलग केस रहेको हुन्छ । यदी कामदार घरबाट भागेको भएपनी स्पोन्सरले रनवए (एवसेन्स) केस पुलिसमा दर्ता गराई दिएको छैन भनें ऊ सिधै फिंगर प्रिन्ट गराएर दूतावासको पहलमा नेपाल जान सक्छ । तर स्पोन्सरले रनवए केस दर्ता गराएको छ भनें ऊ जसरी पनि २ महिना जेल बस्नु पर्छ र त्यसपछी जान पाउँछ ।
*आज जाने १४ जनामा रनवए केस दर्ता भएको थियो ?
-थिएन । उनिहरुलाई २ महिना सम्म दूतावासले गासबासको व्यवस्था गर्यो र यतिका समय सम्म पनि उनिहरु उपर त्यस्तो कुनै केस नपरेकोले फिंगर प्रिन्ट गरेर सिधै जान सके ।
*अनी अहिले दूतावास कक्षमा कती छन त शरण लिने महिला कामदारहरु ?
-धेरै छन । ३०/३५ जना दूतावास सेल्टरमा, ४०/४५ जना मेनपावर एजेन्सिहरुमा, ३०/३५ जना ओमना मन्जेलामा र २० जना जती नेपाली चर्चको सेल्टरमा ।
*के हो ओमना मन्जेला भनेको ?
-डोमेस्टिक वर्कर (घरेलु कामदार) हरुको हकहित र अधिकारको लागि सरकारले संचालन गरेको सेल्टर नै ओमना मन्जेला हो ।
*नेपाल सरकार कि कुवेत सरकारले ?
-हाँस्दै, कुवेत सरकारको सेल्टर ।
*कुवेतमा यती धेरै नेपाली महिलाहरुले दु:ख पाएर बिभिन्न सेल्टरहरुमा शरण लिन वाध्य रहेछन । के यि सेल्टरहरुले नेपाली महिलाहरुलाई नेपाली दूतावासको पहल या साझेदारीमा शरण दिएको हो ?
-सहि प्रश्न गर्नुभयो । एजेन्सीहरुमा र कुवेत सरकारको ओमना मन्जेलामा हाम्रै पहल र साझेदारीमा मिलाईएको हो । तर जहाँसम्म नेपाली चर्चको सवाल छ, त्यसमा हाम्रो कुनै साझेदारी छैन । नेपाली चर्चका पास्टर अगम बहादुर लिम्बु जी को एक्लो प्रयासमा यस्तो शुभ कार्य भएको हो । यसमा वहाँ अवश्य धन्यवादको पात्र हुनु हुन्छ ।
*अब बाँकी रहेका महिलाहरुलाई पठाउने सवालमा के पहल हुँदैछ ?
-पहल र प्रकृया त दूतावासले सँधै अगाडि बढाई नै रहेको छ त्यो हामी बारम्बार प्रेस बिज्ञप्ती जारी गर्दै जानकारी दिई रहेका छौं । र तत्कालिन अवस्थामा २८ जनाको प्रकृया अगाडि बढीरहेको छ शायद चाँडै नै उनिहरु नेपाल जान पाउने छन ।