News


« Previous
Next »

माग लिन डराउँछन् व्यवसायी Jul-12-2010
योगेश खतिवडा....काठमाडौ, अषाढ २३ - वैदेशिक रोजगार व्यवसायी कुमुद खनाल लामो कोसिसपछि मलेसियाको एक कम्पनीबाट आउन लागेको माग लिने कि नलिने भन्नेमा दोधार छन् । पासपोर्ट सहज रूपमा नपाउँदा बिदेसिन आवेदन दिनेको संख्या घटेकाको अवस्थामा माग लिएर पठाउन नसक्ने अवस्था आउने सम्भावनाले उनलाई यो अवस्थामा पुर्‍याएको हो । फ्युजन इन्टरनेसनका प्रबन्ध निर्देशक खनाललाई मलेसियास्थित एक जर्मन इलेक्ट्रोनिक्स कम्पनी 'इलेक्ट्रो सोलार' बाट १ सय कामदारको माग आउने प्रायः पक्का भएको छ ।

परराष्ट्र मन्त्रालयमार्फत मात्र पासपोर्ट वितरण भएकाले राजधानी बाहिरबाट वैदेशिक रोजगारीमा जानेआउनेको संख्या घटेपछि माग लिनेबारे आफू निक्र्योलमा पुग्न नसकेको उनले बताए । 'अहिले वैदेशिक रोजगारीमा जान आउनेको संख्या ७० प्रतिशतले घटिसक्यो,' उनले भने, 'यस कम्पनीले पहिलो पटक नेपालबाट कामदार लैजान खोजेको छ । पासपोर्ट भएका कामदार नआउने आशंकाले माग लिन सकेको छैन ।'

उनका अनुसार वैदेशिक रोजगारीमा जाने सबैभन्दा बढी कामदार सगरमाथा र जनकपुर अञ्चलका छन् । 'उनीहरू राजधानीबाट भन्दा केही समय पर्खेर भए पनि जिल्लाबाट पासपोर्ट बनाउन खोज्छन्,' उनी थप्छन्, 'यसले अहिले आएका मागमा आवेदन दिनेको संंख्या कम भइसक्यो ।' तत्काल एमआरपी आउने सम्भावना नभएको अवस्थामा जाने कामदारको संख्या अझ घट्ने उनले बताए । 'एक सय कामदार लैजान उताबाटै अन्तर्वार्ताका लागि आउँदै छन्,' उनले भने, 'त्यसका लागि २ सय ५० जनाले आवेदन दिनुपर्छ । त्यसअनुसार आउने निश्चित छैन ।' वैदेशिक रोजगार व्यवसायी संघका महासचिवसमेत रहेका उनी राजधानीबाट मात्र पासपोर्ट वितरण हुँदा बाहिरका आवेदन दिनेको संख्या घटेको बताउँछन् । यसले आगामी महिनामा बिदेसिनेको संख्यामा समेत उच्च गिरावट आउने उनी बताउँछन् । 'अझै केही महिनासम्म सहज रूपमा पासपोर्ट पाउने व्यवस्था भएन भने नेपाली कामदारको माग अरू देशमा जान सक्छ,' उनले भने । साउन र भदौमा मलेसियाका साथै कतार, साउदी अरबका रोजगारदाता कम्पनीले एकैपटक धेरै कामदार लैजाने भएकाले पासपोर्ट सहजै पाउन नसक्ने अवस्थाले आएका जति माग लिन नसक्ने उनले बताए । हालै मात्र कतारले डेढ लाख कामदार लैजाने निर्णय गरेको उनको भनाइ छ ।

'सरकारले आगामी आर्थिक वर्षमा यस वर्षको भन्दा १५ देखि २० प्रतिशत बढी कामदार वैदेशिक रोजगारीमा पठाउने लक्ष्य राखेको छ,' उनले भने, 'यसमा पनि असर पर्छ ।' उनी राजधानी आएर पासपोर्ट बनाउन धेरै खर्च लाग्ने भन्दै बाहिरका व्यक्तिहरू राजधानी नआउने गरेको बताउँछन् । वैदेशिक रोजगार विभागका महानिर्देशक मोहनकृष्ण सापकोटाले राजधानीमा मात्र पासपोर्ट वितरण हुँदा कामका लागि आवेदन दिने क्षेत्रमा असर देखिएको बताए । 'अहिले खासै असहज अवस्था आएको छैन,' उनले भने, 'पछि कस्तो असर पर्छ भन्न सक्ने अवस्था छैन ।'