रेमिट्यान्सले बन्यो ऋणमुक्त गाउँ Jul-12-2010
कृष्णप्रसाद गौतम....स्यालाखदी (रुकुम), अषाढ २६ - गाउँका सबै युवा वैदेशिक रोजगारीमा गएकाले जिल्लाको एक गाउँ ऋण मुक्त बनेको छ । स्यालाखदी-७ स्थित रोकाजामा रेमिट्यान्सले गाउँको मुहार फेरिएको हो । खाद्य अभावको चपेटामा परिरहने गाउँ पाँच वर्षअघिसम्म ऋणमा चुर्लुम्म भएको स्थानीय बासिन्दा बताउँछन् ।
अहिले सबैका घरमा बचत छ । युवाले विदेशबाट कमाएको रकमले गाउँमा विभिन्न व्यवसाय सुरु गरेका छन् । युवाले पठाएको रकम संकलन गरी स्थानीयले गाउँमै ऋण तथा सहकारी सहकारी संस्था पनि स्थापना गरेका छन् । विदेशमा कमाइ गरेको रकम बचत गर्ने गरेको नवयुवा बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक धनबहादुर बुढाले बताए ।
\'तीन वर्ष पहिले गाउँका प्रत्येक घरमा एकदेखि २ लाखसम्म कर्जा थियो,\' स्थानीय सुरत बुढाले भने, \'अहिले युवाले विदेशमा कमाएको रकमले गाउँ ऋणमुक्त बनेको छ ।\' उनका दुई छोरा पनि वैदेशिक रोजगारीमा छन् । \'मेरो परिवारमा पनि ४ लाख ऋण थियो,\' उनले भने, \'अहिले केही बचतसमेत गर्न पाएको छु ।\' उनका अनुसार रेमिट्यान्स रकमले गाउँका सबै बालबालिका सदरमुकाम र स्थानीय विद्यालयमा अध्ययनरत छन् । स्थानीय सुनिता बुढाको ऋण पनि दुई छोरा वैदेशिक रोजगारमा गएपछि सकिएको छ । तीन वर्षअघि छोरा वैदेशिक रोजगारमा गएपछि उनले कर्जा तिरेर रेमिट्यान्स रकमबाट गाउँमै कपडा पसल सुरु गरेकी छन् । उनले भनिन्, \'पाँच लाख कर्जा पनि तिरियो ।\' उनी सहकारी संस्थामा सञ्चालक समितिकी सदस्य हुन् ।
\'अहिले त सबै गाउँले ऋणमुक्त छन्,\' उनले भनिन्, \'सबैले राम्रै बचत गर्न थालेका छन्, विद्यालयलाई समेत चन्दा दिने प्रशस्तै छन् ।\'
\'युवाले विदेशमा कमाएको रकमले गाउँको विकासमा पनि योगदान गर्ने गरेको छ ।\'
स्थानीय करण परियारले भने, \'विद्यालयहरूमा रेमिट्यान्स रकम चन्दाका रूपमा दिने गरेका छौं ।\' उनका एक भाइ वैदेशिक रोजगारीमा छन् । अहिले गाउँमा खाद्य अभावको समस्या पनि छैन । उनका अनुसार गाउँका १ सय ५० घरबाट २ सय ५० भन्दा बढी युवा वैदेशिक रोजगारीमा छन् ।